• ताजा समाचार, फोटो फिचर

    एनपीएलले फस्टाएको व्यापार (तस्बिरहरू)

     82 Views
    एनपीएलले फस्टाएको व्यापार (तस्बिरहरू)

    कुल नारायण श्रेष्ठ,
    काठमाडौं, ५ पुस । यतिबेला देशमा नेपाल प्रिमियर लिग (एनपीएल) खेल चलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको क्रिकेट लिगको फाइनल खेल शनिबार हुँदै छ । खेलमा विभिन्न आठ टोली सहभागी थिए । एनपीएल खेल्न नेपालीसहित अन्य बाहिरी देशका खेलाडीको पनि उपस्थिति रह्यो । एनपीएलले खेलाडी, क्रिकेटप्रेमीलाई मात्र हौसला दिएन, खेल मैदान वरपरका व्यवसायीहरूलाई पनि फाइदा पुग्यो । पढ्दै गरेका विद्यार्थीहरूलाई समेत व्यवसाय गर्न अग्रसर गराएको छ ।

    खेल अवधिमा दर्शकहरूको भीडले स्थानीय होटल, खुद्रा पसलहरूको व्यापार बढेको छ । दर्शकहरूले खानपान, आवास र अन्य सेवाको उपभोग गर्दा स्थानीय व्यवसायीहरूको आम्दानी बढेको छ । जसले स्थानीय व्यापार, व्यवसाय फस्टाउन मद्दत गरेको छ ।

    एनपीएलको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विश्वविद्यालका व्यवस्थापन संकायअन्तर्गत २०२४, २५ र २६ श्रेणी (ब्याज)का विद्यार्थीहरू मिलेर ‘फुड स्टल’ सञ्चालन गरेका छन् । चार जनाको नेतृत्वमा स्टल शुरू गरिएको नेतृत्वकर्ता प्रशान्त बरालले बताए । ‘स्टलको नेतृत्व हामी चार जनाले गरेका छौं, सँगै २०२४ र अन्य जुनियर भाइबहिनी सबै जना मिलेर १० वटा स्टल सञ्चालन गरेका छौं,’ बरालले भने ।

    एनपीएलका ८ वटा समूह र दर्शक अनुसार छुट्टाछुट्टै विशेषताहरू ती स्टलमा रहेको छ । ‘एनपीएलमा भएका ८ वटा टीम अनुसार छुट्टाछुट्टै खाने परिकार राखेका छौं, मम, नेवारी खाजा, समोसा, पानीपुरी, रोटीतरकारी, कफी आदि दर्शक अनुसार स्टलमा राखेका छौं,’ बरालले भने ।

    विद्यालयमा पढेको पाठ्यवस्तु वास्तविक जीवनमा पनि प्रयोग गर्नुपर्ने बरालको भनाइ छ । उनले भने, ‘कक्षामा पढेका कुराहरूलाई त्यहीँ सीमित नराखेर वास्तविक जीवनमा परिणत गर्दा कस्तो अनुभव हुन्छ भनेर अगाडि बढ्नुपर्छ, यो स्टल सञ्चालनको मुख्य उद्देश पनि शुरुआत कसरी गर्ने ? दीर्घकालीन कसरी बनाउने ? भनेर योजना बनाएर अघि बढ्यो भने सफल हुन्छ भन्नु नै हो ।’ दिनमा ८० हजारदेखि एक लाखसम्मको व्यापार हुने गरेको उनले बताए ।

    एनपीएलका अवसरमा यहाँ सीमित समयको लागि व्यापार गर्ने पनि धेरै छन् । खेल हेर्न आएका कतिपय दर्शकले समेत खुद्रा पसलको शुरूआत गरेका छन्, जसमध्ये दिनेश थापा पनि एक हुन् । थापा पेसाले इलेक्ट्रिकल इन्जिनियर हुन् । अहिले खेल मैदान नजिकै बसेर उनले झण्डा, क्याप, खेल समूहको ब्याच, स्टीकरलगायत बेचेर एक दिनमै ५५ हजारसम्म कमाइ गर्छन् । ‘दिनमा १२ हजारदेखि ५०–५५ हजारसम्म व्यापार भएको छ, हामी खेल हेर्न आएका थियौं, हुटिङहरू गर्न झण्डालगायत सामान नदेखिएकोले नयाँ कामको सुरुआत गरेका हौं, अहिले राम्रै भइरहेको छ,’ थापाले भने ।

    एनपीएल हेर्न आउने दर्शक बढेसँगै स्थानीय खुद्रा पसलहरूमा व्यापार पनि बढेको छ । अघिपछि सुन्तला बेच्न यताउता भौतारिने गोमा सुवेदी यतिबेला खेलमैदान नजिक आएर बदाम बेच्न थालेकी छन् । उनी खेल हेर्न आउनेहरूलाई बदाम बेचेर दिनमा १५ सयसम्म कमाउँछिन् ।

    एनपीएलले सबै खुद्रा पसलेहरूलाई फाइदा पुर्‍याएको भने छैन । रोशन न्यौपाने दिनमा एक हजारदेखि १५ सयसम्म व्यापार गर्दै आइरहेका छन् । उनले त्रिवि मैदानको केही पर बिस्कुट, चाउचाउ, पानीलगायतको खुद्रा पसल राखेका छन् । एनपीएलले पसलको कारोबार खासै नबढेको उनले सुनाए । ‘एनपीएल हेर्न आउनेहरूले मैदान नजिकै राखिएका पसलमा किन्ने हुँदा यता खासै आउँदैनन्,’ उनले भने ।

    तस्बिरहरू

    यसमा तपाइको मत

    Facebook Comment