उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत

अनलाइनसमय |
२८ मंसिर २०८१
उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत

काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ६० प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव २२ प्रतिशत विन्दुले बढी हो । गत आवको कार्तिकमा यस्तो मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव १० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले रहेको थियो ।

चालू आवको कार्तिकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ । त्यस्तै मरमसला उप–समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको१.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।

यसैगरी गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशतले र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ ।

त्यस्तै, प्रदेशगत रुपमा कार्तिकमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत, मधेश प्रदेशको ५.७२ प्रतिशत, बागमती प्रदेशको ५.३५ प्रतिशत, गण्डकी प्रदेशको ४.६९ प्रतिशत, लुम्बिनी प्रदेशको ५.१० प्रतिशत, कर्णाली प्रदेशको ३.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत रहेको छ ।

तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ५.७२ प्रतिशत, पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस