• ताजा समाचार, देश

    मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : उपप्रधानमन्त्री पौडेल

     55 Views
    मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : उपप्रधानमन्त्री पौडेल

    काठमडौं, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् ।

    ७६औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा मंगलबार ललितपुरमा गरिएको आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए ।

    कार्यक्रममा उनले भने, ’राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ ।’

    साथै उनले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

    यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने उनेको जोड थियो ।

    संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक (युएनडिपी)का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गरे ।

    कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षण गराए ।

     

    यसमा तपाइको मत

    Facebook Comment