• अर्थ, ताजा समाचार

    बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

     71 Views
    बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

    काठमाडौं, २४ मंसिर । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध सोमबार पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको, राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा भ्रष्टार मुद्दा दायर गरेको हो ।

    नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८१ साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    पछिल्लो ९ महिनादेखि राष्ट्र सेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेकोले कानून बमोजिम कारवाहीको माग गर्दै मुद्दा दायर भएको छ ।

    सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी मिति २०३२/११/२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६/०१/१७ गते जारी नागरिकतामा जन्म मिति २०१६/०७/२२ उल्लेख छ ।

    त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५/०४/१५ उल्लेख छ । स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५/०४/१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३/०४/०१ गते राजपत्र अनंकित तृतीय श्रेणीको पदमा नियुक्ति लिएका थिए ।
    सोही जन्म मितिका आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी २०७३/०४/१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएको छ । उनले २०१५/०४/१५ गतेलाई जन्म मिति कायम गरी निजामती सेवामा वहाल रहेको पाइएको छ । उनले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न आफ्नो उमेरको झुट्टा विवरण दिई २०१८/०७/२४ राखेको पाइएको छ ।

    सिलवालले आफ्नो वास्तविक जन्ममिति भन्दा करिब ३ वर्ष उमेर घटाएर उक्त राष्ट्र सेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरेको पाइएको छ । उनले राष्ट्र सेवकको रुपमा उक्त राहदानीहरु प्रयोग गरी लाभ, सुविधा प्राप्त गरेको देखिएको छ ।

    विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएसँगै सिलवाल निलम्बनमा परेका छन् । कुनै पनि सरकारी सेवा कार्यरत अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

    यसमा तपाइको मत

    Facebook Comment