• ताजा समाचार, राजनीति

    रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो आयोगमा उजुरी

     57 Views
    रवि लामिछानेको मानवअधिकार हनन भएको भन्दै रास्वपाले दियो आयोगमा उजुरी

    काठमाडौं, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

    आइतबार रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा उजुरी दिएका हुन ।

    २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।

    यस्तै २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ ।
    उजुरीमा भनिएको छ, ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ ।’

    राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको पनि रास्वपाको आरोप छ ।

    ‘रवि लामिछाने कुनै पनि कसुरमा आरोपित तथा अभियुक्त होइनन्, केवल शंकित मात्र हुन् । उनले गरेको भनिएको कसुरका सम्बन्धमा अनुसन्धान सोधपुछसम्म भइरहेको हो । तर राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी उनलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेका छन् । अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको छ’, उजुरीमा भनिएको छ ।

    लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग रास्वपाले राखेको छ । त्यस्तै राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट सक्रि कदमको अपेक्षा रास्वपाले गरेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment