काठमाडौं, १८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले सामाजिक सञ्जालमा केही कागजातहरु सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो । अदालतले पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि फेरि मंसिर ९ गते प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।