५.५५ प्रतिशतले बढे प्यान लिने करदाता

अनलाइनसमय |
१३ मंसिर २०८१
५.५५ प्रतिशतले बढे प्यान लिने करदाता

काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को भदौ मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।

अर्थ मंन्त्रालयको तथ्यांकअनुसार चालू आवको भदौसम्ममा प्यान लिनेको संख्या १४ लाख ६ हजार ३५८ छ । गत आवको सोही अवधिमा १३ लाख ८ हजार ६५४ ले प्यान लिएका थिए । यद्यपि सुरुदेखि चालू आवको भदौसम्ममा ६३ लाख ७२ हजार ४९१ प्यान जारी भएको छ ।

सोही अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या १२ लाख ३ हजार ८९८ पुगेको छ, जुन कुल प्यान लिने करदाताको ९.९० प्रतिशत हो । गत आवमा व्यक्तिगत प्यान लिनेको संख्या ११ लाख २ हजार ७२९ थियो ।

त्यस्तै पछिल्लो एक वर्षको अवधिमा व्यावसायिक प्यान लिनेको संख्या घटेको छ । गत आवमा २४ हजार ५२५ ले व्यावसायिक प्यान लिएका थिए भने चालू आवमा २१ हजार ९०५ ले लिएका छन् । यसैगरी चालू आवको भदौसम्ममा करकट्टी गर्ने निकायले लिएको प्यान ३३ हजार ८८३ पुगेको छ । गत आवमा यस्तो प्यान १ हजार ४०० ले लिएका थिए ।

यसैगरी पछिल्लो एक वर्ष अवधिमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत प्यान लिनेको संख्या घटेको छ । गत आवको भदौसम्ममा मूल्य अभिवृद्धि करतर्फ ६ हजार र अन्तःशुल्कतर्फ ३ हजार ७ प्यान जारी भएको थियो भने चालू आवको यसै अवधिमा यस्तो करदाताको संख्या क्रमशः ४ हजार ९१४ र २ हजार ५४२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस