काठमाडौं, ६ मंसिर । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार नेपाललाई अहिले प्रहरी कार्यालयमा होल्ड गरिएको छ ।
अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन् । यस विषयमा प्रश्न गर्दै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि सोही दर्जा प्रदान गर्नुपर्ने भन्दै विज्ञप्ति समेत जारी गरेका थिए ।
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।
नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।