काठमडौं, ५ मंसिर । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा अब दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
सभा अघि र्याली हुने छ । भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।
नेकपा (एमाले)द्वारा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा यही मङ्सिर ७ गते राजधानीमा आयोजना गर्न लागिएको जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको छ । भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ । ’ विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने र्याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने भएकाले सोहीबमोजिम ट्राफिक व्यवस्था मिलाउन र जागरण याली तथा सभामा सहभागी हुन सबैमा अनुरोध गरिन्छ ।’
एमालेले सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।