हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे

अनलाइनसमय |
२ मंसिर २०८१
हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे

काठमाडौं, २ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्र लिन वायुसेवा कम्पनीलाई निर्देशन दिए । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको उनले बताए ।

तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको मन्त्री पाण्डेले जानकारी दिए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनले बताए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको दाबी गरे । उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पु¥याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउँदै उनले भने, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारको तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्ने कुराको फलोअप गरिरहेको छु ।’

साथै उनले पोखरामा उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाएको मन्त्री पाण्डेको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस