काठमाडौं, ३० कार्तिक । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात सुरु भएको छ ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात हुन थालेको हो । यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ ।
विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामा उल्लेख छ । हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुनेछ । त्यहाँसम्मको ‘ह्विलिङ चार्ज’ अर्थाात् प्रसारण लाइनको शुल्क प्राविधिक नोक्सानी पनि नेपाल विद्युत प्राधिकरणले नै तिर्नेछ ।
त्यस्तै बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ र मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ ।