नारायणगढ-बुटवल सडक निर्माण मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री

अनलाइनसमय |
२९ कार्तिक २०८१
नारायणगढ-बुटवल सडक निर्माण मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम आगामी मंसिरभित्र सुरु नभए ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ बताए ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

पूर्व नवलपरासी जिल्लाका समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बझाएका थिए । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ ।

सो छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस