• ताजा समाचार, शेयर मार्केट

    धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि बोलाइयो अन्तर्वार्तामा

     55 Views
    धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि बोलाइयो अन्तर्वार्तामा

    काठमाडौं, २९ कार्तिक । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।
    अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो ।

    यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो ।

    सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई फेरि अन्तर्वाताका लागि बोलाइएको हो । उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि मंसिर ९ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।

    सर्टलिस्टमा परेका पाँच जनामध्ये ३ जनाको अन्तर्वार्ता तथा कार्यप्रस्तुती हुन सकेको छैन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।

    २०८० पुस २० मा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त भएको छैन ।

    यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

    राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा बनेको छनोट समितिले १९ जना मध्येबाट पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको थियो ।

    धितोपत्र बोर्डका अध्यक्षको लागि सर्टलिस्टमा परेका पाँचै जना उम्मेदवारलाई बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै उपस्थित भएका थिए । बाँकी तीन जना बाँकी दुवै पटक अनुपस्थित भएका थिए । नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।

    यद्यपि पुरानै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला रहेपछि सरकारले तीन जनालाई अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गर्न बोलाएको हो ।

    धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment