काठमाडौं, २८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठीक भएको दाबी दोहोर्याएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिओडी मिटरको आधारमा उद्योगीहरुबाट बक्यौता उठाउन निर्देशन दिएसँगै अब प्राधिकरणले उद्योगीलाई टिओडी मिटरको प्रमाण देखाउनु पर्ने बाध्यता आयो भनिरहँदा कार्यकारी निर्देशक घिसिङले बिल सही रहेको दाबी दोहोर्याएका हुन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले उद्योगमा प्राधिकरणले पठाएको बिल टिओडी मिटरकै आधारमा रहेको भन्दै प्रमाण नै त्यहि भएकोले अब उद्योगीले पैसा तिर्नुको विकल्प नभएको बताए ।
‘हामीले अहिलेसम्म हाम्रो बिल ठीक छ भनेर भनेका छौं । र, फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाएका छौं । त्यही बिलअनुसारको बक्यौता उहाँहरूले तिर्नुपर्छ,’ उनले भने ।
मन्त्रिपरिषद्को निर्णयपछि पनि प्राधिकरणले टीओडी डाटाअनुसारको बिल भन्दै पुरानै बक्यौता रकम असुलीका लागि उद्योगहरूमा पत्र पठाएको थियो । त्यो सही नै भएकाले त्यसमा कुनै संशोधन गर्नु नपर्ने उनको दाबी छ । ‘मैले टिओडी मिटरको आधारमा प्रमाण सहित बिल पठाएको छु,’ घिसिङले भने, ‘उद्योगीहरुले प्रमाण छैन भनेर पत्रकारहरुसँग पुग्नु भन्दा अदालतमा फेस गर्नुस्।’
टिओडी मिटर डाटा अनुसारकै रहेको बताउँदै यो विल सही छैन भनेर अदालत, सार्वजनिक लेखा समिति र नियमन आयोगमा गएपनि त्यहाँबाट करिब ९० वटा मुद्धा खारेज भइसकेको उनको भनाइ छ ।
‘त्यही बिल ठीक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत् नियमन आयोग लगायतले भनेका छन् । ठीक छैन भनेर अदालतमा हालेका मुद्दा खारेज भएको छ,’ उनले भने, ‘हालै मात्रै हिमाल आइरनको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।’
विद्युत् नियमन आयोगले एक किस्ता नबुझाएसम्म लाइन नजोड्नुस् भनेर निर्देशन दिएको पनि उनले बताए । साथै घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने चेतावनी समेत दिएका छन् ।