भारतीय स्थल सेनाध्यक्ष द्विवेदीे नेपाल आउँदै, नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिइने

अनलाइनसमय |
२८ कार्तिक २०८१
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीे नेपाल आउँदै, नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिइने

काठमाडौं, २८ कार्तिक । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् ।

नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाका अनुसार उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्नेछन् । भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

नेपाल आउनासाथ उनले सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने छन् । साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिरया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने कार्यसूची छ ।

उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस