• अर्थ, उद्योग, ताजा समाचार

    विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

     76 Views
    विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

    काठमाडौं, २७ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे ।
    ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पु¥याउने सोँच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ उनले भने ।

    मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए ।

    ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको र्छ,’ उनले भने ।

    ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए ।

    हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए ।

    ‘म यो दशैँ लगत्तै कोरोलासम्म पुगेर आए । कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडिमै पुगेँ । बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ । बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ । हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ । यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्,’ उनले भने ।

    आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताए ।

    उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे ।

    ‘हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरु परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम ग¥यौँ, कुन कुन आयोजना सुरु ग¥यौँ वा कुन कुन आयोजना सम्पन्न ग¥यौँ । त्यसले नै हाम्रो सफलता वा असफलताको संकेत गर्नेछ । त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,’ उनले भने ।

    मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ‘नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । यहाँहरुसँग व्यवसायिक सोँच छ, त्यसमा इक्विटीको अभाव छ । तपाईहरुको उक्त सोँचमा त्यस कम्पनीले लगानी गर्नेछ भने यहाँहरुसँग बचत छ र कुनै सम्भावित आयोजनामा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईहरुले पनि यस कम्पनीमार्फत त्यसमा लगानी पनि गर्न सक्नुहुन्छ,’ उनले भने ।

    यसमा तपाइको मत

    Facebook Comment