काठमाडौं, २७ कार्तिक । नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।
नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँबराबरको ६ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८७ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल बुधबार बिहान १० बजेदेखि २ बजेसम्म हुनेछ ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन सकिने छ ।
घटीमा रु.पाँच लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. पाँच लाखले भाग गर्दा निःशेष भाग जाने आवेदन दिनुपर्नेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलदाताको रुपमा मात्र भाग लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
ऋणपत्रको ब्याज अर्धवार्षिक भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्र निष्कासन कात्तिक २९ र साँवा भुक्तानी कार्तिक २९ कात्तिक २०८७ मा हुनेछ ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।