काठमाडौं, २५ कार्तिक । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।
विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।
उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
समितिले कार्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिअनुसार शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा आवेदन बुझाउन भनेको छ ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।