फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु : सांसद मनाङे

अनलाइनसमय |
२३ कार्तिक २०८१
फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु : सांसद मनाङे

काठमाडौं, २३ कार्तिक । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।

मनाङेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।

‘(फैसला)पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । उनको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस