• विश्व

    साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

     115 Views
    साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

    काठमाडौं, २२ कार्तिक । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् ।

    निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ ।

    साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति बनाइरहेको छ ।

    साउदीको मानव संशाधन मन्त्रालयले तय गरेको नयाँ नीतिअनुसार, घरेलु श्रमिकहरूले साउदीमा आएको पहिलो दुई वर्षभित्र सम्झौता भंग गरेमा ६० दिनभित्र देश छोड्नुपर्नेछ । यदि उनीहरूले दुई वर्षपछि स्वेच्छाले काम छाडे भने, उनीहरूलाई ६० दिनभित्र नयाँ रोजगारदाता खोज्न र परिवर्तन गर्न अनुमति दिइनेछ ।

    नेपाल लगायतका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषणलाई देखाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्था गरेका छन् । नेपाली घरेलु श्रमिकलाई सुरक्षित वातावरणको प्रत्याभूति नभएकाले नेपालले घरेलु श्रमिकलाई साउदी पठाउन प्रतिबन्ध लगाएको छ। श्रम वार्ताहरूमा नेपालले घरेलु श्रमिकका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न शर्तहरू राख्दै आएको छ ।

    घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएसँगै साउदी अरेबियाले श्रम कानुनमा सुधार गरिरहेको छ ।

    साउदी सरकारका प्रतिनिधिहरुले नेपालबाट जाने घरेलु श्रमिकको हित रक्षाका लागि आफूहरु प्रतिवद्ध रहेको बताउँदै छिटो घरेलु श्रमिकलाई साउदी जान दिन अनुरोध गर्दै आएका छन् । नेपाल सरकारले भने घरेलु श्रमिकको सुरक्षाका लागि आधारभूत रुपमा राखेका शर्तको पालना गर्ने सुनिश्चितता खोजिरहेको छ ।

    यस्तो अवस्थामा साउदीले घरेलु श्रमिकको हितलाई मध्यनजर गरेर करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने व्यवस्था गरेको छ । यसबाट समस्यामा परेका नेपाली घरेलु श्रमिकले पनि लाभ उठाउन सक्ने देखिएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment