यू–१९ महिला टी–२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, कुवेतविरुद्ध १०८ रनले विजयी

अनलाइनसमय |
२२ कार्तिक २०८१
यू–१९ महिला टी–२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, कुवेतविरुद्ध १०८ रनले विजयी

काठमडाौं, २२ कार्तिक । नेपालले आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोद्दै १३ ओभरमा अलआउट भएको थियो ।

कुवेतलाई अलआउट गर्न नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २÷२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १–१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन् ।

यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस