एमालेद्वारा कीर्तिपुरको मेयरसहित चार पदका उम्मेदवार सार्वजनिक

अनलाइनसमय |
२२ कार्तिक २०८१
एमालेद्वारा कीर्तिपुरको मेयरसहित चार पदका उम्मेदवार सार्वजनिक

काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको सार्वजनिक गरेको हो ।

जसअनुसार एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् । उनले संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका गरेका छन् । घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताए ।

त्यस्तै जिल्ला कमिटीको बैठकले कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ । यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएका थिए ।

कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रले यसअघि नै कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस