रविलाई प्रहरीले तेस्रोपटक अदालत उपस्थित गरायो

अनलाइनसमय |
२० कार्तिक २०८१
रविलाई प्रहरीले तेस्रोपटक अदालत उपस्थित गरायो

काठमाडौं, २० कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछानेसहित छविलाल जोशी, सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस