• खेलकुद, ताजा समाचार, देश

    काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँबाट लाइभ देखाउने

     106 Views
    काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँबाट लाइभ देखाउने

    काठमाडौं, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

    नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

    नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ साढे ६ बजेबाट हुनेछ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जानेछन् ।

    सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

    यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग नै पराजित भएको थियो ।

    यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । अहिलेसम्म भारतले सर्वाधिक पाँच पटक र बंगलादेशले एक पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

    साफ च्याम्पियनसिपमा मात्रै नेपाल र बंगलादेश चार पल्ट भिडेका छन् । त्यसमा तीन खेल नेपालले जितेको थियो भने एकमा बंगलादेश विजयी भएको थियो ।

     

    यसमा तपाइको मत

    Facebook Comment