• अर्थ, ताजा समाचार, वाणिज्य

    धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक,चाँदीका सिक्का ११ कार्तिकदेखि नै किन्न पाइने 

     127 Views
    धनतेरसमा सुनको असर्फी बेच्दै राष्ट्र बैंक,चाँदीका सिक्का ११ कार्तिकदेखि नै किन्न पाइने 

    काठमाडौं, नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ मा सुनको असर्फी बिक्री गर्ने भएको छ ।

    राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आगामी मंगलबार एक दिनका लागि २.५ ग्राम तौलका सुनका असर्फी बिक्री गर्ने जनाएको हो । सुनको असर्फी अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    उक्त दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का बिक्री गरिनेछ भने एउटा व्यक्तिलाई एक थानका दरले सुरुमा आउनेलाई प्राथमिकतामा राखेर उपलब्ध भएसम्म मात्रै असर्फी बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । सुनको सिक्काको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले बताएको छ ।

    ‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा १३ कात्तिक मंगलबार एकदिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म बिक्री गरिने छ,’ राष्ट्र बैंकको सूचनामा छ ।

    त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ । ११ बजेदेखि मध्याह्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ ।

    चाँदीको मेडालियन गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

    तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ । यस दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ ।

    असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

    असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ । सुनको असर्फीको दर दैनिक निर्धारण हुने भएकाले सोही दिन ११ बजेपछि मात्र यस महाशाखाबाट बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment