यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा र बचतमा रहेका प्रमुख १० मुलुक

अनलाइनसमय |
८ कार्तिक २०८१
यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा र बचतमा रहेका प्रमुख १० मुलुक

काठमाडौं, ८ कार्तिक । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो त्रैमाससम्ममा नेपालले विश्वका १३८ मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको व्यापार सन्तुलनमा छैन । १३८ वटा देशसँग व्यापारिक साझेदार हुँदा नेपालले १०५ वटा देशसँग व्यापार घाटा बेहोरेको छ । बाँकी ३३ वटा देशसँगको व्यापारमा मात्रै नेपाल बचतमा रहेको भन्सार विभागले जनाएको छ ।

चालू आवको आसोजसम्ममा नेपालले सबैभन्दा बढी छिमेकी मुलुक भारतसँग व्यापार घाटा बेहोरेको छ । भारतसँग २ खर्ब १६ अर्ब ६ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा छ । तीन महिनाको अवधिमा भारतबाट नेपालमा २ खर्ब ४० अर्ब ९२ करोड मूल्य बराबरको वस्तु आयात हुँदा २४ अर्ब ८५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । नेपालको बैदेशिक व्यापारमा समेत भारत सबैभन्दा अगाडि छ ।

भारतपछि नेपालले छिमेकी मुलुक चीनसँग ७८ अर्ब ८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख मूल्य बराबको वस्तु आयात गर्दा नेपालले चीनतर्फ ५५ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ ।

नेपालले व्यापार घाटा बेहोरेको मुलुकमध्ये तेस्रोमा युक्रेन रहेको छ । चालू आवको असोजसम्ममा नेपालले युक्रेनबाट ६ अर्ब ५१ करोड मूल्य बराबरको वस्तु आयात गर्दा ३५ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।

यसैगरी चालू आवको पहिलो त्रैमासमा नेपाल सबैभन्दा बढी बचतमा अफगानस्तानसँग छ । असोजसम्ममा नेपाल अफगानस्तानसँग २८ करोड ४४ लाखभन्दा बढीको बचतमा छ । यस अवधिमा नेपालले अफगानस्तानतर्फ २८ करोड ४६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने २ लाख रुपैयाँको मात्रै वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको असोजसम्मको व्यापार बचतको एघारौँ नम्बरमा थियो ।

अफगानस्तानपछि नेपाल डेनमार्कसँग ८ करोड ८२ लाख रुपैयाँको बचतमा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । तीन महिनामा नेपालले अफगानस्तानबाट १७ करोड ३५ लाखको आयात गरेको छ भने ८ करोड ५२ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

त्यस्तै व्यापार बचतमा हुने मुलुकमध्ये तेस्रो नम्बरमा रुससँग ६ करोड ६६ लाख रुपैयाँ बचतमा छ । असोजसम्ममा ८ करोड ३७ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा १ करोड ७० लाख रुपैयाँको आयात गरेको छ ।

गत आवको असोजसम्ममा व्यापार बचतमा पहिलो नम्बरमा रहेको अमेरिका चालू आवको यसै अवधिमा चौथो नम्बरमा छ । सो अवधिमा नेपालले अमेरिकातर्फ ४ अर्ब ७७ करोड ४३ लाख मूल्य बराबरको वस्तु निर्यात गर्दा ४ अर्ब ७१ करोड ८५ लाख रुपैयाँको आयात गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस