चाडबाडमा पनि बढेन आयात

अनलाइनसमय |
७ कार्तिक २०८१
चाडबाडमा पनि बढेन आयात

काठमाडौं,७ असोज । नेपालको वैदेशिक व्यापार २ वर्षयता सुस्त छ । गत आर्थिक वर्षमा आयात निर्यात दुवैमा ह्रास आयो । चालू आर्थिक वर्षको शुरुका दुई महिना यसमा सुधारको संकेत देखिएको थियो । उपभोक्ता मागमा आएको कमीले विशेषगरी आयात व्यापार खुम्चिँदै आएको साउन र भदौमा बढ्दो प्रवृत्तिमा देखिएको थियो । तर असोजमा आउँदा त्यसमा ‘ब्रेक’ लागेको छ ।

असोज र कात्तिकमा नेपालमा ठूला चाडपर्व पर्ने र उपभोग्य लगायत वस्तुको खपत समेत बढ्ने भएकाले आयात उकासिने अपेक्षा गरिए पनि घट्दो आयातले अर्थतन्त्रमा समस्या कायमै रहेको स्पष्ट पारेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ, जुन भदौको तुलनामा ४ दशमलव ४४ प्रतिशतले कम हो । गत महिना भदौमा १ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको वस्तु आयात भएको थियो । त्यस्तै साउनमा १ खर्ब २८ अर्ब ३७ करोड मूल्य बराबरको वस्तु आयात भएको थियो ।

पछिल्लो एक वर्ष अवधिकै तुलनामा पनि आयात ४.१७ प्रतिशतले घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ बराबरको सामान आयात भएको छ । गत आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोडभन्दा बढीको वस्तु आयात भएको तिथो ।

चालू आवको तीन महिनामा निर्यात पनि घटेको छ । गत आवको असोजसम्ममा ४० अर्ब ८७ करोड रूपैयाँभन्दा बढीको वस्तु निर्यात भएकोमा चालू वर्षको यसै अवधिमा ३८ अर्ब ३७ करोड रूपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ, जुन गतवर्षको भन्दा ६.११ प्रतिशतले कम हो ।

विभागका अनुसार चालू आवको असोजसम्ममा नेपालले विभिन्न मुलुकसँग ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने ३.९६ प्रतिशतले कम हो गत आवको तीन महिनामा नेपाल ३ खर्ब ६६ अर्ब ८८ करोडभन्दा बढीमा व्यापार घाटामा थियो ।

चालू आवको असोजसम्ममा नेपालको कुल बैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँको भएको छ, जुन गत आवको तुलनामा ४.३५ प्रतिशतले कम हो । सो अवधिमा ४ खर्ब ४८ अर्ब रूपैयाँ बराबरको व्यापार भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस