• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    क्याल्सियम सप्लिमेन्ट सेवनबाट कसरी लिने अधिकतम लाभ ?

     147 Views
    क्याल्सियम सप्लिमेन्ट सेवनबाट कसरी लिने अधिकतम लाभ ?

    अस्मिता सापकोटा
    काठमाडौं, ७ कार्तिक । मानव शरीरलाई स्वस्थ र स्फुर्त राख्न विभिन्न पोषक तत्व तथा खनिजको आवश्यकता हुन्छ । हामीले दैनिक खाने खानामा त्यस्ता पोषकतत्व तथा खनिजहरू समावेश हुन्छन् । तर कहिलेकाहीँ खानाबाट मात्र प्राप्त तत्व हाम्रो शरीरलाई पर्याप्त हुँदैन । यस्तोमा सप्लिमेन्टको सेवन आवश्यक हुन्छ । त्यस्तै क्याल्सियम मानव शरीरको विकासका लागि चाहिने महत्वपूर्ण खनिज हो । यसले हड्डी, दाँत लगायत शरीरका अन्य भागलाई बलियो बनाउँछ । साथै मांसपेशीको कार्यक्षमता, हृदय स्वास्थ्य लगायतमा पनि यसको भूमिका हुन्छ ।

    यसको कमीले अस्थिभंग (ओस्टियोपोरोसिस्), मांसपेशीमा कमजोरी, हृदयमा समस्या लगायत अन्य विभिन्न स्वास्थ्य समस्याहरू निम्ति सक्छ । प्राकृतिक स्रोतबाट प्राप्त क्याल्सियम शरीरलाई पर्याप्त नभएमा सप्लिमेन्टको आवश्यकता पर्न सक्छ । तर सप्लिमेन्ट लिने बित्तिकै यसको पूर्ति हुन्छ भन्ने हुँदैन । यसलाई सही तरिकाले सेवन गर्दा मात्र शरीरले पर्याप्त क्याल्सियम पाउँछ ।

    सप्लिमेन्टको सेवन गर्नु अघि केमा ध्यान दिने ?

    क्याल्सियम सप्लिमेन्टलाई सही समयमा र सही तरिकाले सेवन नगर्दा यसले शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । यसको सही रूपमा सेवन गर्दा मात्र शरीरले यसलाई उचित मात्रामा लिन र सदुपयोग गर्न सक्छ ।

    १.समय छनोट

    धेरैजसो क्याल्सियम सप्लिमेन्ट खाना खाएर राति सुत्नुअघि लिनु उपयुक्त मानिन्छ, तर केही सप्लिमेन्ट भने खानासँगै लिन सकिन्छ ।

    क्याल्सियम कार्बोनेट : यो प्रकारको सप्लिमेन्ट खाना खाँदा नै सेवन गर्नु राम्रो हुन्छ । खाना खाने क्रममा पेटमा एसिडको उत्पादन हुन्छ, जसले क्याल्सियमलाई राम्ररी सोस्न मद्दत गर्छ ।

    क्याल्सियम साइट्रेट : शरीरले यसलाई सोस्न पेटमा एसिडको धेरै मात्रा आवश्यक नपर्ने भएकाले खाना नखाई पनि यसको सेवन गर्न सकिन्छ ।

    २. मात्रा मिलाएर सेवन गर्ने

    आवश्यकताभन्दा बढी क्याल्सियम लिँदा यसले शरीरलाई हानि गर्न सक्छ । सामान्यतया वयस्कको लागि दैनिक १००० देखि १३०० मिलिग्रामसम्म क्याल्सियम आवश्यक हुन्छ भने विश्व स्वास्थ्य संगठनले दैनिक ५०० मिलिग्राम क्याल्सियमको सेवन सिफारिस गर्दछ । व्यक्ति अनुसार यसको आवश्यकता फरक पर्ने भएकाले सप्लिमेन्ट सेवन गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

    शरीरले एकै पटक धेरै मात्रामा क्याल्सियम लिन सक्दैन । त्यसैले करिब ५०० मिलिग्रामभन्दा बढी क्याल्सियम एकै पटकमा लिनु उपयुक्त मानिँदैन । अत्यधिक क्याल्सियमको सेवनले पत्थरी, हड्डीको कमजोरी, मुटुको समस्या लगायत रोग निम्त्याउन सक्छ ।

    ४. अन्य सप्लिमेन्टको सन्तुलन

    क्याल्सियम सप्लिमेन्ट लिँदा शरीरले अन्य खनिज तथा भिटामिनलाई कम सोस्न सक्छ ।

    म्याग्नेसियम र जिंक : शरीरमा क्याल्सियमको मात्रा धेरै हुँदा म्याग्नेसियम र जिंकको सोसाइमा अवरोध पुग्छ । त्यसैले क्याल्सियम सप्लिमेन्ट लिँदा शरीरमा यस्ता खनिजको सन्तुलन भने कायम गर्नुपर्छ ।

    ५. अन्य औषधि सेवनमा सावधानी

    क्याल्सियम सप्लिमेन्टले थाइरोइडको औषधि, एन्टिबायोटिक्स लगायत औषधिसँग प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सप्लिमेन्टको सेवन गर्नु अगाडि चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।

    शरीरले क्याल्सियम सोस्न के चाहिन्छ ?

    क्याल्सियम सप्लिमेन्टले राम्रोसँग काम गर्न शरीरले यसलाई राम्ररी सोस्नु पर्छ । यसका लागि क्याल्सियम सोस्न सघाउने तत्वहरू आवश्यक हुन्छ ।

    १. भिटामिन डी

    शरीरलाई क्याल्सियम सोस्न सघाउने महत्वपूर्ण तत्व हो भिटामिन डी । भिटामिन डी विना शरीरले धेरै क्याल्सियम सोस्न सक्दैन । क्याल्सियम सप्लिमेन्ट सेवन गर्दा भिटामिन डी भएका खानामा विशेष ध्यान दिनुपर्छ । यो भिटामिन सूर्यको प्रकाश, अण्डा, च्याउ लगायतमा पाईन्छ । शरीरमा भिटामिन डीको कमी छ भने क्याल्सियमको साथमा भिटामिन डी सप्लिमेन्ट पनि लिनुपर्छ ।

    २. भिटामिन के

    भिटामिन केले क्याल्सियमलाई हड्डीमा राम्ररी जम्मा हुन मद्दत गर्छ । यसले हड्डीको निर्माण तथा विकास राम्रो हुनुका साथै नरम तन्तु वा धमनीहरूमा क्याल्सियम अनावश्यक जम्मा हुन पाउँदैन ।

    ३. म्याग्नेसियम

    म्याग्नेसियमले शरीरमा क्याल्सियमलाई सही मात्रामा प्रयोग हुन मद्दत गर्छ ।

    ४. प्रोटीन

    क्याल्सियमको सोसाइमा प्रोटीनको पनि महत्वपूर्ण भूमिका हुन्छ । उच्च प्रोटीनयुक्त खानाले क्याल्सियमको सोसाइलाई बढाउँछ । तर अत्यधिक प्रोटीनले क्याल्सियम नष्ट पनि गनै सक्छ । त्यसैले क्याल्सियम सप्लिमेन्टको सेवन गर्दा प्रोटीनयुक्त खानामा सन्तुलन राख्नुपर्छ ।

    क्याल्सियम सप्लिमेन्ट सेवन गर्दा ध्यान दिनुपर्ने अन्य कुराहरू

    १. क्याफिन र सोडियम

    चिया, कफी जस्ता क्याफिनयुक्त पदार्थ र अत्यधिक सोडियम (नुन) सेवन गर्दा शरीरले क्याल्सियम राम्रोसँग सोस्न सक्दैन । यस्तो हुँदा क्याल्सियम शरीरबाट छिट्टै निस्कन्छ । यसले हड्डीको स्वास्थ्यमा असर पार्न सक्छ ।

    २. उच्च ओक्सालेटयुक्त खाना

    पालुङ्गो, मेथी, बन्दा जस्ता उच्च ओक्सालेटयुक्त खानामा हुने तत्वले पनि शरीरलाई क्याल्सियम सोस्न अवरोध पु¥याउन सक्छ । त्यसैले क्याल्सियम सप्लिमेन्ट लिँदा यस्ता खानाबाट टाढा रहनु राम्रो हुन्छ ।

    ३. क्याल्सियम र आइरन सप्लिमेन्टसँगै नलिने

    क्याल्सियम र आइरन सप्लिमेन्ट एकै समयमा सेवन गर्दा शरीरले दुवैलाई राम्ररी लिन सक्दैन र सप्लिमेन्टले प्रभावकारी रुपमा काम गर्न सक्दैन ।

    चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा क्याल्सियम सप्लिमेन्टको सेवनले विभिन्न स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment