भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई सत्तारुढ दलको आग्रह

अनलाइनसमय |
७ कार्तिक २०८१
भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई सत्तारुढ दलको आग्रह

काठमाडौं, ७ कार्तिक । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको बताए ।

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको उनले बतदाए । ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्छ’, उनले भने, ‘अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै गएको हो ।’

नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै एमाले महासचिव पोखरेलले नयाँ भनिएका राजनीतिक दल त्यसमा पनि रास्वपाले जुन प्रकारको संस्कार प्रस्तुत गरेको छ त्यसले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहने बताए ।

सत्ता पक्षको कुनै आग्रह नभएको भन्द ैउनले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए । साथै उनले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरे । ‘लोकतान्त्रिक प्रक्रियालाई डिरेल गर्ने, कानुनी राज्यको अवधारणालाई कमजोर बनाउने कुनै गतिविधि नगर्न र कुनै गतिविधि नगर्न म राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु’, उनले भने ।

संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस