विपक्षी दलहरूले प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाउँदै

अनलाइनसमय |
५ कार्तिक २०८१
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाउँदै

काठमाडौं, ५ कार्तिक । प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् ।

गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रका लागि विपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल सदस्यीय रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलले तयार पारेको ज्ञापनपत्र सोमबार प्रधानमन्त्रीलाई भेटेर बुझाउने विपक्षी दलका नेताहरूको तयारी छ ।

सरकारले अलर्ट जारी हुँदा पनि पछिल्लो विपत्तिमा तयारी गर्न नसकेको, घाइते र बेपत्ताहरूको खोजी तथा राहत, उद्धारमा गम्भीर नभएको लगायतका विषयमा केन्द्रत रहेर प्रतिवेदन तयार पारिएको कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद खनालले बताए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने खनालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस