टिआरसी : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत

अनलाइनसमय |
१ कार्तिक २०८१
टिआरसी : सर्च कमिटीलाई पूर्णता दिने विषयमा शीर्ष तीन दल सहमत

काठमाडौं, १ कार्तिक । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताको बैठकले सो सहमति गरेको हो ।

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

उनले छलफल शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा सम्बन्धित रहेको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शीर्ष तीन दलका नेता सहमत भएको उनको भनाई छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संसदले संशोधन गरिसकेको छ । तर, हाल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन् ।

सरकारले यसअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले पूर्णता पाउन सकेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेता सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस