काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता भनिने युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् ।
सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको र भवन पनि बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् ।
उनले उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ, ‘अख्तियारमा उनले दिएको निवेदनमा भनिएको छ, ‘विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङबाट मिति २०८१ असोज २५ गतेका दिन नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएको र सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसमेत सरिक भएको भनी विभिन्न संचारमाध्यमहरुबाट सप्रमाण सम्प्रेषण भएका समाचारहरुप्रति म नेपाली नागरिक युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ।‘
भ्रष्टाचार निवारण ऐन २०५९ ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको उजुरीमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन विपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्नसमेत बिवादास्पद व्यापारी मिनबहादुर गुरुङलाई जिम्मा दिएकोले हदैसम्मको कारबाही गर्नुपर्ने माग उनले उजुरीमा गरेका छन् ।
‘भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेकोे छ । अत यसरी भ्रष्टाचार निवारण ऐन विपरित देशका प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्न समेत विवादास्पद व्यापारी मिन बहादुर गुरुडलाई जिम्मा दिएको र सो पार्टी कार्यालय शिलान्यास गराउदा देशको प्रधानमन्त्रीको समेत उपस्थिति देखिएकोले सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौं रुपैयाँको जग्गा घुस वापत लिने र करोडौं खर्च गरी पार्टी कार्यालय समेत बनाउन लगाउने प्रधानमन्त्री केपि शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्धाहरु खारेज गर्ने नियतका साथ करोडौं रुपैयाँ बरावरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मिन बहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने मनासिव देखिएको हुँदा माथि उल्लेखित प्रतिवादी केपि शर्मा ओली र मिन बहादुर गुरुङलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै सप्रमाण प्रस्तुत उजुरी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं समक्ष प्रस्तुत उजुरी पेश गरेको छु,’ उजुरीमा भनिएको छ।