काठमाडौं, १ कार्तिक । कामना सेवा विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ ।
बैंकको बुधबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न १८औँ वार्षिक साधारणसभाले सेयरधनीका लागि ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश करसमेत गरी १२ प्रतिशत लाभांश पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।
साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आव २०८०÷८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाहलगायत वित्तीय विवरणसँग पारित गरेको छ ।
यस्तै, साधारणसभाले १०० रुपैयाँ दरले ३५ करोड बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनलगायत प्रस्तावसमेत पारित गरेको छ ।
लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज १५ गते बुक क्लोज गरेको थियो।