काठमाडौं, ३० असोज । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा रहेका दाहाल नेतृत्वको नेपाली संसदीय टोली र सुरसज्जासहितको थाइ संसदीय टोलीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो । सो अवसरमा उनीहरुबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताए । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको उनले बताए ।
दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उनले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल–थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गरे ।
अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताए ।
नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उनले व्यक्त गरे । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताए ।
भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए ।