• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    यस्ता छन् गाजर खानुका फाइदा

     140 Views
    यस्ता छन् गाजर खानुका फाइदा

    अस्मिता सापकोटा
    काठमाडौं, १८ असोज । नेपाली भान्छामा पछिल्लो समय खानासँगै सलाद पनि थपिएको छ । परम्परागत नेपाली खानामा सलाद भन्ने छुट्टै परिकार नभए तापनि काँचो तरकारीलाई अचार बनाउने प्रचलन भने पहिलेदेखि नै थियो । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै नेपाली भान्छामा सलाद पनि बन्न थालेको देखिन्छ । मुला, काँक्रो, गाजर, साग जस्ता काँचै खान सकिने तरकारीलाई सलादको रुपमा खाइन्छ । यसरी काँचै खाइने सलादका धेरै फाइदा छन् । आज सलादमा बढी प्रयोग हुने गाजरको फाइदाबारे चर्चा गर्छौं ।

    गाजरलाई सलादको रुपमा मात्र होइन, तरकारी, अचार, हलुवा जस्ता परिकार बनाएर पनि खान सकिन्छ । यसको सेवनबाट एकै दिनमा उल्लेख्य परिवर्तन नदेखिए पनि केही समय पछि स्वास्थ्यमा सुधार देखिने पोषणविद् बताउँछन् ।

    अमेरिकन सोसाइटी फर न्यूट्रिशनले गरेको एक नयाँ अध्ययनले साताको तीन छाक खानामा गाजर समावेश गर्दा शरीरमा महत्वपूर्ण पोषक तत्वको उल्लेखनीय वृद्धि हुने देखाएको छ ।

    यसरी नै ६० जना युवा वयस्कमा ४ हप्ताको समय अवधिमा गरिएको एक अध्ययनले गाजर खानेहरुको छालामा १०.८ प्रतिशतले क्यारोटिनोइडको मात्रा बढेको पत्ता लगायो । यसैगरी क्यारोटेनोइड मल्टिभिटामिन मात्र खानेहरूमा भने कुनै परिवर्तन देखिएन । तर गाजरका साथै क्यारोटिनोइड मल्टिभिटामिन सप्लिमेन्ट सेवन गर्नेहरूको छालामा भने क्यारोटिनोइडको मात्रा २१.६% ले बढेको देखियो । यसबाट क्यारोटिनोइड सप्लिमेन्टले मात्र यसको मात्रा नबढ्ने देखिन्छ ।

    गाजर तथा सुन्तला रङका तरकारीहरूमा क्यारोटिनोइड तथा बिटा–क्यारोटिन पाइन्छ । साथै हरिया साग पातमा पनि यसको मात्रा प्रशस्त हुन्छ । शरीरमा यस्ता क्यारोटिनोइड तथा बिटा–क्यारोटिन भिटामिन ए मा परिणत हुन्छन् ।

    मुटु, फोक्सो तथा अन्य अंगहरूलाई स्वस्थ राख्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले गाजर, हरिया सागपात जस्ता प्राकृतिक क्यारोटिनोइडको स्रोत भएका सलाद तथा तरकारी सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

    भिटामिन ए दृष्टि तथा आँखाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साथै यसले प्रतिरक्षा प्रणालीे मजबूत बनाउन पनि सहयोग पु¥याउँछ । यसैगरी छालाको स्वास्थ्यका लागि पनि भिटामिन ए को आवश्यकता हुन्छ ।

    छालामा हुने क्यारोटिनोइडले युभी विकिरण विरुद्ध सुरक्षा प्रदान गर्ने छाला विशेषज्ञहरू बताउँछन् । साथै गाजरको पर्याप्त सेवनले सबै प्रकारका दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने स्वास्थ्यविद्हरुको भनाइ छ ।

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडिसी)का अनुसार पर्याप्त ताजा तरकारी तथा सलादको सेवनबाट मुटु रोग, केही क्यान्सर, मधुमेह तथा मोटोपनाबाट पनि बच्न सकिन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment