काठमाडौं, १५ असोज । राष्ट्रिय जनमोर्चा पार्टीले विपद् क्षति न्यूनीकरणमा सरकारले चरम लापरवाही गरेको आरोप लगाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट हुन सक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको उल्लेख गरेका छन् ।
केसीले विज्ञप्तिमार्फत् भनेका छन्, ‘बाढीपहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमीनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’
बाढीपहिरो जोखिम रहेको ठाउँमा पनि सडक यात्राको जोखिमताप्रति सरकार सचेत नभएको जनमोर्चाको आरोप छ । ‘हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढीपहिरो नियन्त्रण र जोखिमतालाई न्यूनिकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ । अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्दारका लागि सुरक्षाकर्मीको परिचालन गरेपनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन,’ विज्ञप्तिमा भनिएको छ ।
साथै जनमोर्चाले बाढीपहिरो मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि सरकारसँग माग गरेको छ ।