अस्मिता सापकोटा
काठमाडौं, ११ असोज । तपार्इंहरु यो सामग्री पक्कै आफ्नो घर वा अफिसमा बसेर आफ्नै मोबाइल, ल्यापटप वा कम्प्युटरमा पढ्दै हुनुहुन्छ होला । यो २१आँै शताब्दीमा प्रविधिमा भएको ठूलो परिवर्तनकै कारण सम्भव भएको हो । सन् २०२४ मा आइपुग्दा प्रविधिमा अनेकौं विकास भइसकेका छन् । यद्यपि यसको विकास क्रम भने जारी नै छ । अहिलेको समयमा प्रविधिको विकासले मानव जस्तै देखिने र कार्य गर्न सक्ने यन्त्रमानव समेत बनिसकेका छन् । यसको आविष्कारले विश्व नै चकित बनेको बेला, यो जस्तै अन्य प्रविधिको पनि विकास भइरहेको छ । आज हामी २०२४ का उदीयमान प्रविधि र यिनीहरुले पार्न सक्ने प्रभावबारे चर्चा गर्छांै ।
१. कनेक्टिभिटी प्रविधि
फाइभजीको बढ्दो लोकप्रियतासँगै सिक्सजी उदाउँदो क्रममा छ । दूरसञ्चारलाई झनै प्रभावकारी बनाउन विकसित देशहरुमा यसको माग धेरै छ । यसका लागि पूर्वाधारको विकास आवश्यक छ, जसलाई अतिरिक्त ऊर्जा स्रोत चाहिन्छ । समग्र विश्व ऊर्जा बचतको विषयमा सचेत बनेको बेला सीमित ऊर्जाबाट प्रविधिमा फड्को मार्नु चुनौतीको विषय हो ।
रिकन्फिगरेबल इन्टेलिजेन्ट सर्फेस (आरआइएस)ले मेटा–मटेरियल, स्मार्ट एल्गोरिदम र इलेक्ट्रोम्याग्नेटिक वेभ नियन्त्रण तथा हेरफेर गरेर ताररहित सञ्चारलाई झनै प्रभावकारी बनाउँछ । क्षमता तथा कनेक्टिभिटी बढाउन डिजाइन गरिएको यस प्रविधि वातावरणमैत्री पनि छ । मुख्यतः यसको प्रयोग टेलिकममा हुन्छ । यसका साथै स्मार्ट उद्योग, सवारीसाधन लगायत क्षेत्रमा थप भरपर्दो रेडियो–वेभ सञ्चार सुविधाका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।
यसरी नै हाई अल्टिट्युड प्ल्याटफर्म स्टेसन (एचएपीएस) प्रणालीबाट पनि सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि गर्न सकिन्छ । पृथ्वीबाट करिब २० किलोमिटर माथि सञ्चालन गरिने एयरशिपको रूपमा यसलाई प्रयोग गरी विश्वका दुर्गम भागहरूमा सञ्चार सहज बनाउन सकिन्छ । यस प्रणालीको जडान तथा प्रयोग सजिलो तथा द्रुत हुने भएकाले आपत्कालीन परिस्थितिमा झनै उपयोगी हुन सक्छ ।
सेन्सिङ र सञ्चारबीच कार्यात्मक सम्बन्ध छ । इन्टेग्रेटेड सेन्सिङ एण्ड कम्युनिकेशन (आइएसएसी)ले यी दुवैलाई एउटै प्रणालीमा संयोजन गर्छ, जसबाट एकैसाथ डेटा सङ्कलन र प्रसारण गर्न सकिन्छ । यसले ताररहित सञ्जालमा वरिपरिको परिवेश बुझ्न, लोकेसन ट्र्याक गर्न, वातावरण तथा पूर्वाधारबारे जानकारी संकलन गर्न लगायत कार्यमा मद्दत पु¥याउँछ । यसरी डेटा विश्लेषणबाट हावा तथा पानीको गुणस्तर, माटोको ओसिलोपन, मौसमको अवस्था लगायत जाँच गर्न सकिन्छ । यो प्रविधि स्मार्ट कृषि, वातावरण संरक्षण लगायत क्षेत्रमा प्रयोग गरिन्छ । यसले ऊर्जा उत्पादन र उपयोग गर्ने तरिकालाई पनि सुधार गर्न सक्छ ।
२. एआइ सम्बन्धी आविष्कार
एआइ वैज्ञानिक आविष्कारका लागि एकदमै महत्वपूर्ण छ । वैज्ञानिकहरूले लामो समयदेखि यसको ज्ञान तथा क्षमता बढाउन विभिन्न प्रयोग गर्दै आएका छन् । हालसालैका सिकाइ सम्बन्धित एआइ, जेनेरेटिभ एआइ लगायतको आविष्कारले सिकाइ क्षेत्रमा ठूलै प्रगति भएको छ ।
साथै एआईले डेटा विस्तारमा पनि ठूलो प्रगति गरिरहेको छ । यसलाई सुरक्षित तथा वैध तरिकाले प्रयोग गर्न सिन्थेटिक डेटाको आविष्कार भइसकेको छ । यो व्यक्ति, संस्था वा सरकारको गोपनीयता सुरक्षित राख्ने नयाँ प्रविधि हो । यसले कुनै पनि कम्पनी तथा सरकारलाई हानि पु¥याउन सक्ने व्यक्तिगत जानकारी समावेश नगरी प्रयोगकर्तालाई डेटा उपलब्ध गराउँछ ।
वैज्ञानिक खोजका लागि एआई सहयोगी बनेको छ । डिप माइन्ड्स अल्फाफोल्ड भन्ने एआई प्रणालीले प्रोटिन संरचनाहरूको थ्रिडि मोडेलको सही भविष्यवाणी गर्न सक्छ । एआईसँग हरेक वैज्ञानिक अनुसन्धानलाई अझ प्रभावकारिताका साथ सञ्चालन गर्ने क्षमता भएको वैज्ञानिकहरु बताउँछन् । अनुसन्धानमा यसको प्रयोगबाट एन्टिबायोटिकको नयाँ प्रकार पत्ता लागेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार भवन निर्माण क्षेत्रबाट मात्रै करिब ४० प्रतिशत कार्बन उत्सर्जन हुने गरेको छ । यो क्षेत्रमा कार्बन उत्सर्जन कम गर्न इमर्सिभ प्रविधि र एआई उपकरणको प्रयोग महत्वपूर्ण हुन सक्छ । यस्ता प्रविधिहरुले सम्भावित परिणाम तथा चुनौतीहरूको आकलन गर्न सक्छन् । यसैलाई विश्लेषण गरेर वातावारण प्रदूषण न्यूनीकरणमा कस्ता कदम चाल्ने भन्ने समेत निक्र्योल गर्न सकिन्छ ।
३. जलवायु परिवर्तनलाई सामना गर्न प्रविधिको प्रयोग
इलास्टोकालोरिक्स यस्तो प्रविधि हो, जसले उच्च तापमान भएको ठाउँ वा वस्तुलाई चिस्याउने गर्छ । यस प्रविधिमा निकेल र टाइटेनियम जस्ता इलास्टोकालोरिक सामग्री प्रयोग गरिन्छ । यसमा वातावरणलाई हानि गर्ने रेफ्रिजरेन्ट ग्यासहरूको आवश्यकता हँुदैन ।
अमेरिकी ऊर्जा विभागका अनुसार कुनै विद्युतीय पूर्वाधार नभएका क्षेत्रमा पनि प्रयोग गर्न सकिने भएकाले यस प्रविधि प्रयोग गरेर बनाइएका चिस्यान पम्पहरू हाल प्रचलनमा आएका पम्पको उत्तम विकल्प हुन सक्छ ।
अहिले विश्व जलवायु परिवर्तनको संकटमा छ । यस्तोमा सूक्ष्मजीवहरू संकटको निराकरणका लागि महत्वपूर्ण सावित भइरहेका छन् । जमीन, हावा तथा पानीमा पाइने सूक्ष्मजीवमा हावामा भएका हरितगृह ग्यासहरू कब्जा गरेर त्यसलाई जैविक ईन्धनमा रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ ।
यसरी सूक्ष्मजीवहरूको प्रयोग गरेर हरित गृह ग्यास कब्जा गर्ने प्रविधिलाई माइक्रोबियल कार्बन क्याप्चर भनिन्छ । यी दुइ प्रकारका छन् । पहिलोले साइनोब्याक्टेरिया र माइक्रोएल्गा जस्ता फोटोसिन्थेसिसमा कार्बन प्रयोग गर्ने जीवहरू प्रयोग गर्दछ भने दोस्रो प्रकारमा हाइड्रोजन वा जैविक फोहोर प्रयोग गर्ने सूक्ष्मजीवहरूको प्रयोग गरिन्छ । त्यस्ता सूक्ष्मजीवहरूको प्रयोगबाट वायु मण्डलमा कार्बन उत्सर्जन कम हुनुका साथै बायोडिजेल वा प्रोटिनको भरपूर स्रोत भएको पशु आहार उत्पादन गर्न सकिन्छ ।
पशु कृषि सोया जस्ता प्रोटिनको उत्पादनमा निर्भर छ । यसको अत्यधिक प्रयोगबाट वन विनाश तथा जैविक विविधतामा हानि पुग्छ, जसबाट जलवायु परिवर्तनमा थप टेवा पुग्छ । यसको सट्टा खाद्य फोहोरबाट उत्पादित प्रोटिन युक्त पशु आहार उक्तम विकल्प हुन सक्छ ।
४. प्रत्यारोपण प्रविधि
प्रत्यारोपण प्रविधि मेडिकल क्षेत्रका लागि वरदान सावित भएको छ । यद्यपि माग अनुसार प्रत्यारोपण गर्न पर्याप्त अंगहरू नपाइँदा कैयौंको ज्यान समेत जाने गरेको छ । हालैको एक नयाँ प्रविधि सीआरआइएसपीआर– क्यासनाइन जस्ता जेनेटिक म्यानुपुलेसनमा भएको प्रगति प्रत्यारोपणमा अत्यन्त सहयोगी बन्न सक्छ । मानिसमा जेनेटिकल्ली इन्जिनियर गरिएका अंगहरूको सफल प्रत्यारोपणले स्वास्थ्य सेवालाई झनै प्रभावकारी बनाउन सक्छ ।
(वल्र्ड इकोनोमिक फोरमको रिर्पाेटमा आधारित)