भदौमा शेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

अनलाइनसमय |
७ असोज २०८१
भदौमा शेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड पूँजीगत लाभकर

काठमाडौं, ७ असोज । साउनमा उच्च अङ्कले बढेको शेयर बजार भदौ महिनाभर दबाबमा रहँदा पनि साढे २ अर्बभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालू अर्थिक वर्ष २०८१÷८२ को भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । समग्र बजार भदौ महिनामा १४ प्रतिशत (४२० अंक) घटेको थियो ।

भदौमा उठेको पूँजीगत लाभकर साउनको तुलनामा भने ३९ प्रतिशत कम हो । साउन महिनामा मात्रै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । एकै महिनामा संकलन भएको सो लाभकर हालसम्मकै उच्च हो ।

यस्तै चालू आवको भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने स्टक डिलरबाट ३० लाख ३९ हजार राजस्व उठेको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस