अस्मिता सापकोटा
काठमाडौं, १ असोज । तपाईंलाई रिस उठ्छ ? कुन अवस्थामा रिसाउनुहुन्छ, के कुराले रिस उठ्छ ? अनि रिस उठेको बेला के गर्नुहुन्छ ? रिस दबाउनुहुन्छ वा व्यक्त गर्नुहुन्छ ? संसारमा कस्ता मानिसलाई बढी रिस उठ्छ, रिस उठ्नुका कारण, यसको व्यवस्थापन जस्ता विषय मानिसको स्वभाव र परिस्थितिमा निर्भर हुन्छ । तर यथार्थ चाहिँ के हो भने मानिसलाई कुनै न कुनै बेला केही कुराले रिस उठेको हुन्छ । रिसको मात्रा अनुसार कतिले यसलाई दबाउँछन् वा व्यवस्थापन गर्छन् भने कतिपयले व्यक्त गर्छन् ।
माया, दया, आश्चर्य, डर, त्रास जस्तै एउटा भावना हो रिस वा आक्रोश । रिसलाई संस्कृतमा क्रोध पनि भनिन्छ । सामान्यतया क्रोधलाई मानिसको लागि हितकर मानिँदैन । त्यसले प्रायः मानिस आफ्नै रिस वा क्रोधबाट डराउने गर्छन् । बढी रिसाउने मानिसको सामाजिक सम्बन्ध पनि राम्रो हुँदैन । रिसकै यिनै अवगुणका कारण यसलाई मानिसको शत्रु समेत भनिन्छ । तर रिस पूर्णतः नकारात्मक भावनात्मक अवस्था भने होइन । कतिपय अवस्थामा मानिसका लागि यो अन्य भावना जस्तै अनिवार्य भएको मनोवैज्ञानिकहरू बताउँछन् ।
दुःख, प्रेम, घृणा र शोक जस्ता भावनालाई भन्दा बढी क्रोधलाई दमन गरिन्छ । नशालु पदार्थ प्रयोग गरेर भए पनि टाढा भगाइन्छ । किनकि क्रोधले निम्त्याउन सक्ने घटनाहरू देख्दै, सुन्दै आएका छौं र कतिपय अवस्थामा भोगेका समेत हुन सक्छौं । यद्यपि यो डरले क्रोधबाट भागिरहँदा यसले भावनात्मक असर पर्न सक्ने र अन्ततोगत्वा मानसिक समस्या समेत ल्याउन सक्ने एनएचएस साइकोथेरापिस्ट मोया सार्नर भन्छिन् ।
बच्चा बेलामा बाबुआमाको क्रोधले हिंसा भएको देखेका बालबालिकाले आफ्नो क्रोधलाइ दबाउने गरेको पाइएको सार्नर बताउँछिन् । उनीहरुले आफ्नो रिसका कारण पनि त्यस्तै हिंसा निम्तिन्छ भन्ने सोच्ने गरेकाले अभिव्यक्त गर्न नसक्ने उनको भनाइ छ ।
रिस उठ्नुका धेरै कारण हुन सक्छन् । तीमध्ये एउटा कारण, मानिसलाई समुदाय वा व्यक्तले उसको खास नामले नभई होच्याउने, जिस्क्याउने वा बेइज्जती हुने किसिमका उपनामले बोलाउनु हो । यसले मानिसलाई रिस उठ्नु स्वाभाविक हो । आफूमाथि अन्याय हुँदा रिस उठ्नु रचनात्मक भावना भएको र यो मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण भएको सार्नर बताउँछिन् । आफूलाई राम्रो व्यवहार नगरिएको सम्बन्धलाई त्याग्न सक्नु मानिसको बहुमूल्य खुबी भएको र यस्तो गर्न नसक्नेले आफ्नै सुरक्षालाई जोखिममा पार्ने उनको भनाइ छ ।
क्रोधले ल्याउन सक्ने जीवन्त, गतिशील ऊर्जालाई सजिलैसँग दाँत किटेर दबाउन सकिन्छ । तर यसो गर्दा त्यस क्रोधका पछाडि लुकेका महत्वपूर्ण भावनालाई महसुस गर्न नसकिने मनोवैज्ञानिकहरू बताउँछन् । उनीहरु संघर्ष र क्रोधलाई बाँच्नको लागि अत्यावश्यक तत्व मान्छन् ।
(एजेन्सीको सहयोगमा)