१७ प्रस्तावित राजदूतबारे संसदीय सुनुवाइ समितिले असोज २ गते निर्णय गर्ने

अनलाइनसमय |
३१ भदौ २०८१
१७ प्रस्तावित राजदूतबारे संसदीय सुनुवाइ समितिले असोज २ गते निर्णय गर्ने

काठमाडौं, ३१ भदौ । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक असोज २ गतेलाई बोलाइएको छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब अर्को बैठक बुधबार बस्ने संसद् सचिवालयलले जनाएको छ । संसदीय सुनुवाइ समितिको बैठकसमिति सदस्य ईश्वरी घर्तीमगरका अनुसार बैठक २ गते ११ बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो । बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।

सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम प्रस्तावित छ ।

यस्तै दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफरिस गरेको छ ।

प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन् । समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो । तर, उजुरी परेका राजदूतबारे के गर्ने भन्नेमा समिति सदस्यहरू निष्कर्षमा पुगिसकेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस