काठमाडौं, ३० भदौ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकसहितको छलफलपछि आन्तरिक छलफलमा जुटेका माओवादी सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध कायमै राख्ने निर्णय गरेका हुन् ।
माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् । उनले भनिन्, ‘हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध कायमै रहन्छ ।’
यही भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेका थिए । उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए ।
केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने रुलिङ गरेपछि माओवादी सांसदले संसद्मा अवरोध गर्दै आइरहेका छन् ।