काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए ।
घिमिरेले बैठकमा सभामुख लगायत सत्तारूढ दललाई बैठक सञ्चालनको वातावरण बनाइदिन अनुरोध गरेका थिए । बैठकमा सहभागी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल पश्चात् निर्णय दिने जानकारी दिएर बैठकबाट बाहिरिएका थिए । सोही कारण अहिले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूको अनौपचारिक छलफल जारी छ । उनीहरू बिच आजको संसद् बैठक सञ्चालनमा अवरोध गर्ने नगर्ने भन्ने विषयमा छलफल बताइएको छ ।
यही भदौ १२ को प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेका थिए । उक्त शब्दमा माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले उक्त शब्द रेकर्डबाट हटाउने नहटाउने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए ।
केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त शब्द असंसदीय नभएको र रेकर्डबाट नहटाउने भन्दै रुलिङ गरेका थिए । सोही विषयमा माओवादीले माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक माओवादीले आन्तरिक छलफलका लागि समय मागेपछि दिउँसो २ बजेलाई सारिएको छ । माओवादी पार्टीलाई आन्तरिक छलफलका लागि १ घण्टा समय दिइएको छ ।