अस्मिता सापकोटा
काठमाडौं, ३० भदौ । हामीमध्ये केहीलाई दैनिक १० देखि ५ को अफिस समय झन्झटिलो लागिरहेको होला । यति हुँदाहुँदै पनि अफिस गएर काम गर्नैपर्ने बाध्यता छ ? यसो हो भने तपाईंको लागि रिमोट जब राम्रो बिकल्प हुन सक्छ ।
विश्वव्यापीकरणका कारण पुरै विश्व एउटा गाउँ जस्तो भइसकेको छ । त्यसमाथि प्रविधिमा आएको विकासले विश्वको एक ठाउँको मानिस अर्को ठाउँको मानिससँग सम्पर्कमा आउन झनै सहज भएको छ । यसकैै कारण विश्वभरका मानिस आफ्नो घर वा पायक पर्ने ठाउँमै बसेर विश्व बजारमा आफ्नो ज्ञान, सीप तथा कलाकौशल बेच्न सक्षम भएका छन् ।
घर वा आफूलाई पायक पर्ने ठाउँमा बसेर गरिने काम तथा रोजगारीलाई रिमोट जब भनिन्छ । यो पार्टटाइम, फुलटाइम दुवै प्रकारको हुन्छ । साथै केही आफ्नो समय अनुसार गर्न सकिने खालका हुन्छन् भने कुनैमा कम्पनीको समय अनुसार काम गर्नुपर्ने हुन्छ । साथै यसमा बिहानको १० देखि ५ बजेसम्म काम गर्नुपर्ने बाध्यता भने कमै हुन्छ ।
विश्वमा रिमोट जब गर्नेको संख्या बढ्दै गइरहेको छ । नेपालमै पनि केही मात्रामा यस्तो काम गर्नेहरू भेटिन्छन् ।
आफ्नो क्षेत्र छोड्न नचाहने तर काम भने अन्य ठाउँमा गर्ने चाहना राख्ने मानिसका लागि रिमोट जब उपयुक्त हुन सक्छ । साथै यसले दैनिक लामो दुरीको यात्रा गर्न नचाहने, धेरै प्रकारका काम गर्न चाहने र अफिसको वातावरणमा सीमित हुन नसक्ने व्यक्तिहरूका लागि आकर्षक तथा फाइदाजनक अवसर प्रदान गर्छ ।
यदि कोही लेखक, डिजाइनर, सफ्टवेयर डेभलपर, व्यवसाय सल्लाहकार वा डाटा विश्लेषकको रूपमा काम गर्न चाहन्छ भने आजकल धेरै प्लेटफर्महरूले रिमोट जबको आबेदन आह्वान गरिरहेका छन् । यो प्लेटफर्ममा यस्ता अवसर प्रशस्त भेटिन्छन् ।
१. फ्लेक्सजब
फ्लेक्सजब रिमोट जब अवसरको लागि प्रमुख प्लेटफर्ममध्ये एक हो । सन् २००७ मा स्थापना भएको यो प्लेटफर्मबाट पार्टटाइम जब, रिमोट जब लगायत विभिन्न रोजगारीका अवसरबारे सूचना पाउन सकिन्छ । यस प्लेटफर्ममा लेखन, ग्राहक सेवा, सूचना प्रविधि, स्वास्थ्य, मार्केटिङ, शिक्षा लगायत क्षेत्रमा रोजगारीका अवसरहरू उपलब्ध हुन्छन् । यसका साथै आफ्नै देशमा बसेर विदेशका कम्पनीमा काम गर्न चाहनेका लागि पनि यसले रोजगारीका अवसरहरूमा पहुँच सिर्जना गर्छ । यसरी नै विश्वभरका प्रसिद्ध कम्पनीहरूले तयार गरेका परियोजनामा काम गर्न चाहनेहरूका लागि यो प्लेटफर्म प्रमुख रोजाइमा पर्ने गरेको छ ।
यस प्लेटफर्ममा आएका प्रत्येक रोजगारीसँग सम्बन्धित विज्ञापनको चेकजाँच हुनेभएकाले यसबाट प्राप्त रोजगारीबाट ठगिने सम्भावना हुँदैन । साथै यसमा रोजगारी खोज्न पनि सजिलो छ । यसमा ब्लग बनाउने, वेबिनार संचालन गर्ने लगायत विभिन्न करियर स्रोतहरू पनि भेटिन्छन् । यो प्लेटफम सब्सक्रिप्सन मोडलमा सञ्चालन हुन्छ । यसबाट रोजगारी खोज्न चाहनेले मासिक, त्रैमासिक वा वार्षिक भुक्तानी गर्नुपर्छ ।
२. वी वोर्क रेमोटली
वी वोर्क रेमोटली प्लेटफर्मको उद्देश्य बढ्दो रिमोट जबको आवश्यकतालाई पूरा गर्नु हो । विश्वभरका प्रयोगकर्तालाई जोड्ने यस प्लेटफम प्रयोग गर्न सजिलो छ । साथै यसले व्यवस्थापन, डिजाइन, प्रोग्रामिङ, लेखन, मार्केटिङ, लगायत क्षेत्रहरूमा रोजगारीको अवसर प्रदान गर्छ । काम खोज्नेहरूले आफूलाई पायक पर्ने क्षेत्र, कम्पनी तथा स्थान अनुसारको रोजगारीको अवसर छान्न सक्छन् । यस प्लेटफर्ममा रोजगारीको अवसर खोज्नका लागि खाता खोल्न वा लगइन गर्नुपर्दैन । साथै यो प्लेटफर्मले रिमोट जब सम्बन्धी ब्लग पोस्ट र गाइडहरू पनि उपलब्ध गराउँछ ।
३.एंगललिस्ट
एंगललिस्ट स्टार्टअप, प्रारम्भिक चरणका लगानीकर्ता, उद्यमी तथा कामको खोजीमा रहेकाहरूका लागि सहयोगी प्लेटफर्म हो । यसमा पूर्णकालीन, रिमोट जब लगायत अन्य कामका अवसर पनि उपलब्ध छन् । रिमोट जब खोज्दा यसका एडभान्स फिल्टर प्रयोग गरेर सजिलैसँग उपयुक्त काम छान्न सकिन्छ । साथै पारदर्शितालाई ध्यानमा राख्दै यसले कम्पनीको भूमिका, पारिश्रमिक, सदस्यहरु लगायत आवश्यक जानकारी पनि प्रदान गर्छ । यो नेटवर्किङ प्लेटफर्म पनि हो । त्यसैले यसको प्रयोगबाट विभिन्न कम्पनिसँग सहकार्य गर्न सकिन्छ । साथै यसमा जोडिएका सल्लाहकारको मद्दतबाट जो कोहीले आफ्नो करियरलाई नयाँ उचाइमा पु¥याउन सक्छन् ।
४. ट्र्युलानसर
ट्र्युलानसर विभिन्न क्षेत्रहरूमा रिमोट कामको अवसर खोज्ने व्यक्तिहरूलाई सेवा दिने प्लेटफर्म हो । अन्य प्लेटफर्ममा जस्तै यसमा पनि एउटा कम्युनिटी सेक्सन उपलब्ध छ, जहाँ व्यक्तिहरू आपसमा जोडिन, सरसल्लाह गर्न तथा आफ्नो करियर यात्रामा एकअर्कालाई मार्गदर्शन गर्न सक्छन् । यस प्लेटफर्मले प्रयोगकर्ताहरूलाई स्किल टेस्ट दिई प्रमाणपत्र प्राप्त गर्ने अवसर पनि दिन्छ, जसले प्रतिस्पर्धात्मक बजारमा प्रोफाइल थप बलियो बनाउन मद्दत पुग्छ ।
ट्र्युलानसर भारतमा आधारित वेबसाइट हो । यसको पहुँच विश्वव्यापी हुनुका साथै यो प्रयोग गर्न सजिलो पनि छ ।
५. लिंक्ड्इन
लिंक्ड्इन रिमोट जबको अवसर खोज्ने व्यक्तिहरूका बीचमा प्रसिद्ध प्लेटफर्ममध्ये एक हो । यसको विस्तृत नेटवर्कले वित्त, मार्केटिङ, मिडिया तथा संचार, प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका उद्योगहरूमा पहुँच सहज बनाइदिन्छ । यसले व्यक्तिहरूलाई विश्वव्यापी रिमोट जब अनुभव प्राप्त गर्न पनि सहयोग पु¥याउँछ । यसको माध्यमबाट आफ्नो प्राथमिकतासँग मेल खाने रिमोट जब सजिलैसँग भेट्टाउन सकिन्छ ।
यसका अतिरिक्त यसबाट सिधै संस्थासँग जोडिन यसको इनमेल सुविधा प्रयोग गर्न सकिन्छ । यसबाट रिमोट जबका लागि आबेदन नखुलेको तर रिमोट कर्मचारी राख्न मिल्ने वा राख्ने सम्भावना भहेको कम्पनीसँग पनि सहकार्य गर्न सकिन्छ । साथै सिधै कम्पनिसँग जोडिदा कामको बारेमा थप जानकारी पाउन पनि सजिलो हुन्छ ।
(एजेन्सीको सहयोगमा)