काठमाडौं, २८ भदौ । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) नेपालले ‘कोइका नेपाल कार्यालय फोटो प्रदर्शनी र साँस्कृतिक कार्यक्रम २०२४’ को आयोजना गरेको छ । उक्त कार्यक्रम २०८१ भदौ २६ र २७ गते पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) स्थित कोइका आइसिटि सेन्टरमा सम्पन्न भएको हो । कोइकाले यो कार्यक्रम नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको हो, जुन सन् १९७४ मा स्थापना भएको थियो ।
यस कार्यक्रमा कोइकाले नेपालको विकासमा गरेको सहयोग र योगदानलाई समृद्धि, खुशी र मानवता लगायत विषयवस्तुमा आधारित रही उजागर गरिएको थियो । साथै यस कार्यक्रममा कोरियाली खानपान, परम्परागत खेलकुद, क्यालिग्राफी लगायत कोरियाली सांस्कृति पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन दक्षिण कोरियाका महामहिम राजदूत हे.इ. ताए–यङ पार्क र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरत मणि सुवेदीले गरेका थिए । उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि, कोरियाली संघका प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका उच्च पदाधिकारीहरू, कोइकाका साझेदार, स्वयम्सेवीहरू र सर्वसाधारणहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
कोइका नेपालका निर्देशक मूहोन कङले नेपाल सरकार र सम्पूर्ण साझेदारहरूप्रति कोइका को मिशनलाई अघि बढाउन गरेको महत्वपूर्ण सहयोगको लागि आभार व्यक्त गरे । उनले फोटो प्रदर्शनीलाई तस्बिरको मात्र प्रदर्शनी नभई साझा विकास यात्राको प्रतिबिम्ब र समृद्धि तथा मानवताको साझा आकांक्षाको अभिव्यक्ति रहेको बताए ।
परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एशिया डिभिजनका उपसचिव मणि रत्न शर्माले कोरियाली सरकारले नेपाललाई गरेको समग्र सहयोग र सांस्कृतिक आदान–प्रदानले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाएको कुरामा जोड दिए ।
महामहिम ताए–यङ पार्कले आफ्नो मन्तव्यमा नेपाल र दक्षिण कोरियाबीचको आपसी सहयोगले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेमा जोड दिए । उनले विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र सूचना प्रविधि क्षेत्रमा कोइका मार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै, कार्यक्रममा सचिव भरत मणि सुवेदीले नेपालको विभिन्न विकास क्षेत्रहरू जस्तैः वैदेशिक रोजगार, शिक्षा र जन–जनबीचको आदान–प्रदानमा कोरियाली सरकारको निरन्तर सहयोगको लागि कोइका र कोरियाली सरकारलाई धन्यवाद व्यक्त गरे । उनले आर्थिक तथा लगानी क्षेत्रहरूमा निरन्तर सहकार्यको लागि आशावादी रहेको बताए ।
कार्यक्रममा कोइकाको नेपालमा विकास सहकार्यका तस्बिरहरू जनता, शान्ति, समृद्धि र साझेदारी जस्ता विषयवस्तुमा आधारित रही प्रदर्शन गरिएको थियो । कोइका नेपाल कार्यालयले विगतमा निर्माण गरेका भवनहरूको प्रदर्शनी पनि गरिएको थियो।
कार्यक्रममा “कोइका फोटो प्रतियोगिता“ को विजेताहरूलाई पनि सम्मानित गरिएको थियो । उक्त प्रतियोगिता “नेपालमा समृद्धि, खुशी र मानवता“ भन्ने विषयमा भएको थियो र जुलाई २२ देखि अगस्त ११, २०२४ सम्म खुला गरिएको थियो।
दुई दिने यस कार्यक्रममा करिब ४०० भन्दा बढी सरकारी अधिकारी, कोइकाका साझेदार संगठनहरू र सर्वसाधारणहरूले फोटो प्रदर्शनी अवलोकन गरेका थिए।
पछिल्ला ५० वर्षमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध आर्थिक, पूर्वाधार, विकास र रोजगारजस्ता क्षेत्रमा सहकार्य गर्दै अझ प्रगाढ भएको छ । कोइका मार्फत कोरियाली सरकारको सहयोग निरन्तर जारी छ, जसले दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । कोइकाको माध्यमबाट सन् १९९१ देखि २०२३ सम्ममा कुल सहयोग रकम २० करोड अमेरिकी डलर पुगेको छ ।