काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभामुख रानाले अविश्वास प्रस्तावको सामना गर्नुअघि नै बहिर्गमनको बाटो रोज्नु उचित हुने बताए । उनले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’
प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । ’उपसभामुखले गर्न नहुने र राष्ट्रको शीर झुकाउने काम गर्नुभएको छ । उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । यसले संसदलाई नै अपमानित गरेको छ ।
बैठकले उपसभामुख रानाको विषय संवेदनशील भएकाले अन्य दलसँग पनि यसबारे छलफल गर्ने निष्कर्ष निकालेको घिमिरेले बताए । सोही विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
२०२३ को फेब्रुअरीमा लेखेको उक्त पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख विवादमा परेकी छिन् ।
सत्तारुढ दलहरू उपसभामुख मगरलाई हटाउन संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा समेत जुटेका छन् ।