काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् ।
रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन पुगेका लामिछानेलाई सहकारीका बचतकर्ताले कालो झण्डा देखाएर नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम चलिरहेको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बैठकस्थल बाहिर सहकारी पीडितले कालो झण्डा देखाएर नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएको भन्दै नाराबाजी गरेका छन् ।