काठमाडौं, ३१ असार । सोमबार अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए । सरकार परिवर्तनसँगै अर्थमा विष्णु पौडेल आउने भनिएसँगै गत शुक्रबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको थियो । तर, अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकै दिन परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर २२ सय ४० दशमलव ४१ को विन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२ सय ५७ दशमलव ५९ को विन्दुमा बन्द भएका थियो ।
सोमबार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । आज २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर १ लाख २ हजार ३७२ पटक किनबेच हुँदा कुल ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको कारोबार भएको छ । आइतबार ७ अर्ब ६२ करोडभन्दा बढीको कारोबार भएको थियो ।
आज ३२२ धितोपत्रको कारोबार हुँदा १८४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५६ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।
सोमबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूहको १.४८, होटल एन्ड टुरिजमको १.७६, जीवन बीमाको १.६५ र लघुवित्तको १.४१ प्रतिशतले भटेको छ । यस दिन लगानी समूहको १.७० प्रतिशतले म्युचुअल फन्डको १.६७ प्रतिशतले हाइड्रोपावर समूहको ०.७३ प्रतिशतले र उत्पादनमुलक समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ ।
सोमबार सिभिल बैंक डिबेन्चर २०८८ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै माण्डू हाइड्रोपावरको ९.९९, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड सेचमी–२ को ९.९७, नबिल ग्रोथ फन्डको ९.९२ र सानिमा लार्ज क्याप फन्डको ८.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये जानकी फाइनान्स कम्पनीको शेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।