काठमाडौं, ३० असार । अहिले मानिसको हात–हातमा मोबाइल फोन छ । यसो त पछिल्लो समय नेपालमा बैंकिङ कारोबार र इन्टरनेटको प्रयोगकर्ता बढेसँगै मोबाइल बैंकिङको प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ६३ हजार ७७६ पुगेको छ, जुन गत आवको जेठसम्मको तुलनामा १५ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ करोड १० लाख ९१ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष अवधिमै ३२ लाख ७२ हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् ।
यस्तै चालू आवको ११ महिनामा १९ लाख ४५ हजार ७३६ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ । यो सङ्ख्या गत आवको जेठसम्मको तुलनामा ६ दशमलव २९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १८ लाख ३० हजार ४६५ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको जेठसम्ममा १ करोड २९ लाख २७ हजारभन्दा बढी डेविट कार्ड प्रयोगकर्ता छन्, गत आवको साहीे अवधिमा यसको प्रयोगकर्ता १ करोड २२ लाख ३४ हजार भन्दा बढी थिए ।
चालू आवको जेठसम्ममा क्रेडिट कार्ड र प्रिपेइड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः २ लाख ८७ हजार ५२२ र १ लाख ७३ हजार ९६४ पुगेको छ । सो अवधिमा ५ हजार १६३ एटिएम रहेका छन् ।
राष्ट्र बैंकका अनुसार हाल ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ४५२ वटा शाखा कार्यालय छन् । सो अवधिमा ५ करोड ५४ लाख ७५ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।