सिमलताल पहिरो: बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

अनलाइनसमय |
३१ असार २०८१
सिमलताल पहिरो: बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं, ३० असार । गत २८ असार (शुक्रबार) बिहान चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुको खोजी गर्न पाँच १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन् ।

सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नम्बर १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘¥याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ९ जना परिचालित भएका छन् ।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा खसेका थिए ।

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ आइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस