बाढीपहिरो अपडेटः जेठ २८ यता देशभर १०१ को मृत्यु, १०८ घाइते

अनलाइनसमय |
२९ असार २०८१
बाढीपहिरो अपडेटः जेठ २८ यता देशभर १०१ को मृत्यु, १०८ घाइते

काठमाडौं, २८ असार , अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायत विपद्मा परी देशभर हालसम्म १ सय १ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार जेठ २८ गते अर्थात् नेपालमा मनसुन भित्रिएदेखि आज बिहानसम्ममा देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर १०१ जनाको मृत्यु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म बाढीपहिरामा परेर १०८ जना घाइते छन् भने ६ जना बेपत्ता भएका छन् । उनले भने, ’जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरोमा परी १०१ जनाको मृत्यु, १०८ जना घाइते र ६जना बेपत्ता भएका छन् ।’

बाढीपहिरो तथा विपद्का कारण काठमाडौंमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु भएकामध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । यस्तै बेपत्ता हुनेमा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडामा ३, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा ७, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय आठ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोबाट अहिलेसम्म ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि पाँच सय एक जना प्रहरी परिचालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस